काठमाडौं। रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् औपचारिक रूपमा गठन भएसँगै नेपालको कार्यकारी संरचनामा पुस्तान्तरणको स्पष्ट संकेत देखिएको छ।
२१ फागुनको चुनावबाट रास्वपाले स्पष्ट बहुमत ल्याएपछि शुक्रबार शपथ लिएका बालेनले परम्परागत ठूलो मन्त्रिपरिषद्को सट्टा सानो, चुस्त र नतिजामुखी मन्त्रिपरिषद् रोजेका छन्।
प्रारम्भिक चरणमा प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ, जसलाई सरकार खर्च कटौती र प्रशासनिक दक्षताको सन्देशका रूपमा हेरिएको छ।
सरकारमा समावेश अनुहारहरू हेर्दा राजनीतिकभन्दा बढी विशेषज्ञता, युवा प्रतिनिधित्व र सार्वजनिक छवि लाई प्राथमिकता दिइएको देखिन्छ। अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन्। हार्वर्ड शिक्षित अर्थशास्त्री वाग्लेले कमजोर अर्थतन्त्र, घट्दो लगानी र बढ्दो वैदेशिक पलायनको चुनौती सामना गर्नुपर्नेछ।
यस्तै, पार्टीभित्रका युवा सांसद र नयाँ पुस्ताका अनुहारहरूलाई पनि प्रमुख जिम्मेवारी दिइएको बताइएको छ। प्रारम्भिक सूचीअनुसार गृह, शिक्षा, स्वास्थ्य, कानून, पूर्वाधार र सञ्चार मन्त्रालयमा पनि नयाँ पुस्ताका प्रतिनिधि अगाडि ल्याइएको छ, जसले पुराना दलहरूको सत्ता संस्कृतिभन्दा फरक शैलीको संकेत दिएको छ। यद्यपि सबै मन्त्रालयको अन्तिम पोर्टफोलियो औपचारिक राजपत्रमा विस्तृत रूपमा सार्वजनिक हुने क्रम जारी छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन सरकारको सबैभन्दा ठूलो विशेषता ‘कम मन्त्री, बढी उत्तरदायित्व’मोडल हो। प्रधानमन्त्री स्वयंले मन्त्रालयहरूको कार्यसम्पादन मूल्यांकन प्रत्यक्ष गर्ने तयारी गरेको संकेत दिएका छन्। यसले निर्णय प्रक्रिया छिटो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
बालेन सरकारमाथि अहिले जनताको अपेक्षा असाधारण रूपमा उच्च छ। भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, प्रशासनिक सुधार र आन्दोलनकालीन न्यायका विषय तत्काल परीक्षणका क्षेत्र बन्नेछन्। विशेषगरी गत भदौको जेनजी आन्दोलनपछि बनेको राजनीतिक वातावरणले यो मन्त्रिपरिषद्लाई परिणाम दिनैपर्ने दबाबमा राखेको छ।
बालेन मन्त्रिपरिषद
अर्थ : स्वर्णिम वाग्ले
गृह : सुधन गुरुङ
परराष्ट्र : शिशिर खनाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन : खडकराज पौडेल (गणेश)
ऊर्जा, जलस्रोत : विराजभक्त श्रेष्ठ
शिक्षा : सस्मित पोखरेल
सूचना, सञ्चार : बिक्रम तिमिल्सिना
भौतिक पूर्वाधारः सुनील लम्साल
सामान्य प्रशासन : प्रतिभा रावल
कानुन : सोविता गौतम
श्रम : दीपक साह
स्वास्थ्य : निशा मेहता
कृषि तथा सहकारी र वन : गीता चौधरी
महिला, बालबालिका : सीता बादी












