काठमाडौं । बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाह सहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले प्रशासनिक भवन निर्माणको ठेक्का मिलेमतो गरेर भ्रष्टाचार गरेको ठहर गर्दै शाहसहितका १४ जना र जाग्रिति/एमके/नेपाल जेभीविरुद्ध विशेष अदालत, काठमाडौंमा कैद र ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार ठेक्का सम्झौतामा लक्षित बोलपत्र दातालाई फाइदा पुर्याउने गरी योग्यताको शर्त र मापदण्ड बदलिएको थियो। बढि कबोल गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरेर सार्वजनिक संस्थालाई हानी पुर्याएको पाइएको छ।
अदालतमा प्रतिवादी बनाइएका व्यक्तिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेश राज रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्त बहादुर थापा, र ठेक्का पाएको कम्पनी जाग्रिति/एमके/नेपाल जेभीका प्रबन्धक र प्रतिनिधि रहेका छन्।
अख्तियारले प्रतिवादीहरूको आपसी मिलेमतो र योजनाबद्ध भ्रष्टाचारले बुढीगंगा नगरपालिका र सार्वजनिक संस्थामा हानी नोक्सानी पुर्याएको जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको छ।












