काठमाडौं । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।
स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । उनकाअनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो ।












