काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा बन्ने नयाँ सरकारका लागि पठाउने मन्त्रीहरूको नाम टुंग्याएको छ। सत्तारूढ गठबन्धनमा सहभागी एमालेले १४ मन्त्रालयमध्ये आफन्त परेको ६ मन्त्रालयमा पठाउने मन्त्रीहरूको सूची अन्तिम गरेको हो।
प्रदेश कांग्रेस नेता बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ। आजै उनको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ।
एमालेबाट मन्त्री बन्नेमा दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसी रहेका छन्। तीमध्ये किरण थापा मगर मात्रै दोहोरिने मन्त्री हुन् भने बाँकी पाँच जना नयाँ अनुहार हुन्।
एमालेले यी नेताहरूलाई आजै शपथ गराउने गरी तयारी पूरा गरिसकेको स्रोतले जानकारी दिएको छ। उनीहरू मुख्यमन्त्री बन्न लागेका इन्द्रबहादुर बानियाँसँगै पद तथा गोपनीयताको शपथ लिनेछन्।
सत्ताको नयाँ समीकरण अनुसार १४ मन्त्रालयमध्ये कांग्रेसले नेतृत्व गर्ने सरकारमा एमालेले ६, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाँकी मन्त्रालय पाउने बुझिएको छ।
प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणसँगै विकास, समृद्धि र सेवा प्रवाहमा जनताले देखेको आशा अब कसरी पूरा हुन्छ भन्ने प्रतीक्षामा प्रदेशवासी रहेका छन्।












