हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाले आज दलभित्रको विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा उनको विपक्षमा २२ मत पर्दा पक्षमा १५ मत मात्रै परेपछि उनले दलको नेतृत्व गुमाएका हुन्।
लामाविरुद्ध दलभित्रैबाट अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। उक्त प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूले लामा हटाइ इन्द्रबहादुर बानियाँलाई नयाँ नेताका रूपमा अघि सारेका छन्। बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य हुन्।
संसदीय दलको नेताबाट विश्वास गुमाएसँगै लामा मुख्यमन्त्रीको पदमा रहन नैतिक रुपमा अयोग्य भएको भन्दै उनीमाथि राजीनामाको दबाब बढेको छ। दलभित्र बहुमत सांसद बानियाँको पक्षमा उभिएपछि सरकार नेतृत्व फेर्ने तयारी कांग्रेसले गरेको बुझिएको छ।
अब लामाले स्वेच्छिक राजीनामा नदिए अविश्वास प्रस्तावमार्फत संवैधानिक प्रक्रिया अनुसार पदबाट हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
बानियाँ नेतृत्वको नयाँ सरकार गठनको संभावना बलियो बनेको छ, तर त्यसका लागि प्रदेशसभा स्तरमै दलहरूको समर्थन र सहकार्य जुटाउनुपर्ने देखिन्छ।
बागमती प्रदेशको नेतृत्वमा फेरबदल हुने निश्चित जस्तो देखिए पनि अबको राजनीतिक कदमले नै स्थिति स्पष्ट पार्नेछ।












