काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका ५५ जिल्लामा साना नदीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार बिहानको मापनमा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास पुगेको छ। नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल भए पनि बढ्ने सम्भावना देखिएको छ।
उच्च सम्भावना भएका जिल्ला
इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।
मध्यम सम्भावना भएका जिल्ला
तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी–पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी र आसपासका जिल्लामा मध्यम जोखिमको मध्यम सम्भावना रहेको छ।
महाशाखाले यी ५५ जिल्लालाई पहेँलो रंगमा वर्गीकरण गर्दै बाढी जोखिम क्षेत्रमा पर्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।












