काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो भारी वर्षापछि पश्चिम नेपालका तीन जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज बिहान ८ः३० बजे जारी गरेको विशेष बाढी सूचना अनुसार दाङ, बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ।
दाङ जिल्लाको तुलसीपुर, अम्बापुर र जलकुन्डी वर्षामापन केन्द्र तथा बाँकेको पश्चिम राप्ती र सिक्टा क्षेत्र र बर्दियाको मानपुर वर्षामापन केन्द्र आसपासका क्षेत्रमा अत्यधिक वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।
लगातारको वर्षाका कारण ती क्षेत्रमा बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोला तथा अन्य साना नदी र खहरे खोलामा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।
बाढीका कारण तटीय क्षेत्र र होचो भूभागहरू डुबानमा पर्न सक्ने उच्च जोखिम रहेको भन्दै विभागले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
दुघर्टनाबाट जोगिन स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वयमा आवश्यक पूर्वतयारी गर्नसमेत विभागले आग्रह गरेको छ।












