काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका विभिन्न २९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्क रहन अपिल गरेको छ।
महाशाखाका अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आज दिनभर तीव्र रूपमा बढ्ने सम्भावना छ।
जिल्लागत हिसाबले झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा बहने साना नदी तथा खोँच र ढलान क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको उल्लेख गरिएको छ।
बाढी महाशाखाले ती जिल्लालाई पहेँलो रंग (Yellow Alert) को संकेत दिँदै आकस्मिक बाढीको सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार र डुबान सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन अनुरोध गरिएको छ।












