काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन्।
काठमाडौंमा नेपाली कांग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति दिवंगत चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताए।
‘उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुई वटा हाँगा हुन्,’ भट्टराईले भने, ‘हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ। अहिले विभिन्न ढंगले प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेका छन्। यस्तो अवस्थामा हामीले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडी बढौँ।’
अध्यक्ष डा.भट्टराईले आफू कांग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिर गरे। भट्टराईले आफू सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे भएको बताउँदै ०३३ सालसम्म कांसको निकट र त्यसपछि २०७३ सम्म कम्युनिस्ट पार्टीमा रहेर राजतन्त्रको विरोधमा खरो प्रस्तुत भएको बताए।
‘म त सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हो,’ भट्टराईले भने, ‘त्यसैले ०३३ सालसम्म कांग्रेसको निकटमा रहेँ। म कुनै पार्टीमा थिइनँ। नातागोताहरू सबै कांग्रेसी हुनुहुन्थ्यो। त्यति बेला वीपीले राजासँग मेलमिलाप भनेर आउनुभयो, त्यति बेला वीपीलाई नै यो ठिक छैन भनेर भनेको थिएँ।’
भट्टराईले थपे,‘पछि, कम्युनिस्टहरूले राजतन्त्र अन्त्यको नारा दिन्थेँ। त्यस बेला गणतन्त्रको पक्षमा रहेका कम्युनिस्टहरूसँग लागेर ०७२ सालसम्म कम्युनिस्ट पार्टीमा रहेँ। मेरो सार नै राजतन्त्र ठिक होइन भन्ने हो। म अलिकति कांग्रेस हो, अलिकति कम्युनिस्ट हो। दुवैको गुण भएको र अलि अगाडि बढेको मान्छे हुँ।’