काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ हेरफेरलाई विश्व इतिहासमै लज्जास्पद राजनीतिक ठगी को उदाहरण भएको बताएका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले समितिबाट सर्वसम्मत पारित भएको व्यवस्था ‘जालसाजीपूर्वक हटाएर’ संसदबाट विधेयक पारित गरिएकोमा आक्रोश व्यक्त गरेका हुन्।
“यो घटना उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठको प्रमाण हो,” उनले लेखेका छन्, “यस्ता राष्ट्रघाती र जनविरोधी अपराध जति निन्दा गरे पनि कम हुन्छ।”
उनले यो घटना राजनीतिक र संस्थागत विकृतिको चरम उदाहरण भएको भन्दै मुलुकको राजनीतिक संरचनामा आमूल परिवर्तन अपरिहार्य भएको उल्लेख गरेका छन्।
भट्टराईले लोकतान्त्रिक, समाजवादी र अग्रगामी वैकल्पिक मार्ग को खोजी गर्न सबै नागरिक र राजनीतिक शक्तिलाई आह्वानसमेत गरेका छन्।












