काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई संयमता र धैर्यका साथ आवश्यक कदम चाल्न निर्देशन दिएको छ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ समूहले आगामी दिनमा गर्न लागेको भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट सार्वजनिक भएका विचार र क्रियाकलापले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले आयोगले यसलाई गम्भीरतापूर्वक लिएको छ।”
आयोगका अनुसार हिंसात्मक गतिविधि, अरू व्यक्तिलाई लक्षित नकारात्मक टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा नकारात्मक असर पार्ने जोखिम छ। त्यसैले आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासनको पालना र सामाजिक सद्भाव जोगाउँदै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धाबाट निकास खोज्न सरकार र नागरिक दुवैको दायित्व भएको जनाएको छ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।”
त्यस्तै, आयोगले राजनीतिक दलहरू र विभिन्न समूहहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू व्यक्तिहरूमाथि लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न तथा सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।












