काठमाडौं । प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगले माघ ५ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता २०८२ को उल्लङ्घनसम्बन्धी कार्यवाहीलगायतको जानकारी बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अहिलेसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग कुल २१ वटा स्पष्टीकरण सोधिएको छ। तीमध्ये ५ वटा जवाफ प्राप्त भइसकेका छन् भने बाँकी जवाफका लागि ताकेता भइरहेको छ।
भट्टराईले बताए अनुसार, आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृतसमेत तोकेको छ। साथै, निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरी सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील बनाइएको छ। यस इकाइले मिथ्या वा भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिलाई निगरानी गरी गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउने काम गर्दै आएको छ।
आयोगका अनुसार, इकाइले हालसम्म ३०२ वटा हानिकारक सूचना पत्ता लगाएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाइसकेको छ। भट्टराईले आगामी निर्वाचन फागुन २१ गते हुने भएकाले सबैलाई आचारसंहिता पालना गर्न आग्रह गरेका छन्।













