काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२६ स्थित अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर हुनेमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल र तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी अख्तियारले यस कार्यमा संलग्न राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष पोख्रेल, सदस्य रामचन्द्र अधिकारी, आश बहादुर गुरुङ, उमा कुमारी थापा र सोम बहादुर नेपाली रहेका छन्।
उनीहरुले विद्यालयको ३ रोपनी ३ आना जग्गा गैरसुकुम्बासी भिम बहादुर बिकको नाममा गराएर भ्रष्टाचार गरेको अख्तियारको आराेप छ। उनहरुले बिकको परिवारका नाममा पहिले नै जग्गा भएता पनि झुट्टा विवरण तयार पारी सुकुम्बासी प्रमाणित गरिएको पाइएको अख्तियारले जनाएको छ।
उनीहरूले पदको दुरुपयोग गरी सरकारी जग्गालाई व्यक्तिको नाममा श्रेस्ता कायम गराई १ करोड ४० लाख २५ हजार बराबरको सार्वजनिक सम्पत्ति हानि पुऱ्याएको अख्तियारको दाबी छ। अख्तियारले पाँचै जना पदाधिकारी र जग्गा लिने भिम बहादुर बिकविरुद्ध जनही रु १ करोड ४० लाख २५ हजार बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ।












