
काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएका कारणले राजीनामा दिनुपरेको हो भनेर प्रश्न गरेकी छन्।
एमाले सांसद समेत रहेकी भट्टराईले हिजो (सोमबार) शिक्षामन्त्री पदबाट राजीनामा दिएकी छन्। उनको राजीनामापछि पार्टीभित्र तर्क वितर्क चलिरहेको छ। भट्टराईलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गर्दा राजीनामा आएको भनेर एमालेका कतिपय नेताहरूले टिप्पणी समेत गरेका छन्। यसैबीच उपाध्यक्ष शाक्यले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेकी हुन्।
शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनुपर्यो भनेर प्रश्न गरेकी छन्। उनले भट्टराईलाई सहयोग किन भएन भन्दै रोष प्रकट गरेकी छन्।
उनले भनिन्, ‘उहाँलाई सहयोग किन भएन? कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ। कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।’












