काठमाडौँ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकको भविष्य संविधानको संरक्षण र कार्यान्वयनसँगै जोडिएको भन्दै वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्न सबैलाई आग्रह गरेकी छन्।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै शाक्यले मुलुक अहिले शोकको घडीमा रहे पनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन्।
“यतिबेला हामी शोकको घडीमा छौँ,” उनले भनिन्, “तर हामी एकताबद्ध भएर अझ दरो एकताका साथ अघि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ।”
उनले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारका रूपमा व्याख्या गर्दै त्यसकै संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको उल्लेख गरिन्। “हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन। संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ,” शाक्यले भनिन्।
शाक्यले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा राखिन्।
संविधानलाई समयअनुसार परिमार्जन गर्न सकिने संकेत दिँदै उनले भनिन्, “संविधानलाई आत्मसात् गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ। परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ।”












