काठमाडौं । नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन् ।
कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान गरेका थिए । उनी शुक्रबार (मंसिर २९) मा स्वदेश फर्किने कार्यक्रम छ । नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ६ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। मंसिर ५ गते नेपाल आएका द्विवेदी ९ गते स्वदेश फर्केका थिए ।