काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्नका लागि पीडित पक्षलाई औपचारिक उजुरी दिन आह्वान गरेका छन् ।
सिंहदरबार परिसरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सो प्रकरणबारे फाइल खोल्ने प्रक्रिया सुरु गर्न नागरिक आफैँले उजुरी दिनुपर्ने बताए । ‘मन्त्री आफैँ उजुरी हाल्दै हिँड्दैन,‘उनले भने, ‘पीडितले लिखित रूपमा उजुरी दिएपछि मात्र राज्य संयन्त्रले प्रक्रिया अघि बढाउँछ ।’
उनका अनुसार पहिले आदेशका आधारमा शासन चल्ने गरे पनि अहिले देश कानुनले चलिरहेको छ । ‘पहिला पहिला आदेशले हुन्थ्यो, अहिले कानुनले हुन्छ,‘उनले स्पष्ट पारे, ‘कसैले पनि हस्तक्षेप गर्न पाउँदैन । राज्य संयन्त्रले प्रमाण, कानुन र उजुरीका आधारमा मात्रै काम गर्छ ।’
गृहमन्त्री अर्यालले कानुनको शासन नै सुशासनको आधार भएको उल्लेख गर्दै गल्ती गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने बताए । ‘कानुनको अघि सबै समान हुन्,‘उनले भने, ‘राम्रो काम गर्नेले पुरस्कार पाउनुपर्छ, नराम्रो गर्नेले सजाय ।’












