काठमाडौं । अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। गत सातामात्रै उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा भएको थियो। यसपटक उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखाअधिकृतदेखि विभिन्न तहका अधिकारीसम्म व्यापक हेरफेर गरिएको हो।
रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतको कार्यालयमा ल्याइएको छ भने ठूला करदाता कार्यालय, ललितपुरका निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ।
यसअघि पनि सहसचिव र उपसचिव तहमा ठूलो मात्रामा जिम्मेवारी फेरबदल गरिएको थियो। सो क्रममा वीरगञ्ज भन्सार प्रमुख राजेन्द्र ढुंगानालाई मन्त्रालयमा तानिएको र उनको स्थानमा काजीबाबु कोईरालालाई पठाइएको थियो।
भन्सार विभागमा पनि पछिल्ला एक वर्षमै चार जना महानिर्देशक फेरिएका छन्। पौडेलले ढुण्डीराज निरौलालाई हटाएर हरिशरण पुडासैनीलाई ल्याए, पुडासैनीपछि महेश भट्टराई र अहिले श्याम भण्डारीलाई महानिर्देशक बनाएका छन्। भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ भने योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंकप्रसाद पाण्डेलाई मन्त्रालयमा ल्याइएको छ।
त्यसैगरी, उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागमा, रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा, सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागमा र टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सरुवा गरिएको छ।












