काठमाडौं । सत्तारुढ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । संघकी अध्यक्ष टुकाभद्र हमालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएकी हुन् ।
विज्ञप्तिमा मौलिक हक अन्तर्गत आधारभूत स्वास्थ्य सेवालाई संविधानमा लिपिबद्ध गरिएपनि व्यवहारमा सामान्य औषधी समेत समयमा उपलव्ध हुन नसकेको उल्लेख गरिएको छ ।
‘दुर्गम गाउँको अवस्था अझै जटिल छ, स्वस्थ्य संस्थाको पहुँच र रोगको पहिचान र उपचारको व्यवस्था प्रभावकारी हुन सकिरहेको छैन ’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई मौसमी रोगहरुबाट जोगाउन स्थानीय तहले जनपरिचालन गरी सुसूचित गर्ने, पानी सफा गर्ने तरिका सिकाउने र ठाउँठाउँमा पानीको स्रोत सफा गरी पानीको स्वच्छता मापन गरी सर्वसाधारणलाई त्यसको जानकारी दिन आवश्यक छ । यस कार्यमा प्रदेश तथा संघीय सरकारले पनि विशेष चासो र प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’
संघले बाढी पहिरो र डुबानले समस्यामा परेका विशेष गरी सुत्केरी, नवजात शिशु र बालबालिका, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर तत्काल स्वास्थ्य उपचार, उद्धारका साथै जीवनयापनका लागि आवश्यक सहयोग गर्न सरकारसँग माग गरेको छ ।
यस्तै उपत्यका लगायत कैलाली जिल्लामा समेत हैजाका बिरामी भेटिएको भन्दै त्यसलाई रोकथामका लागि पहल गर्न ध्यानाकर्षण गराइएको छ ।
हेर्नुहोस् विज्ञप्ति