काठमाडौं । चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको सय दिन सफलतापूर्वक पार गरेको छ। गत वर्ष फागुन २९ गते प्रदर्शनमा आएको फिल्म शुक्रबारसम्म आइपुग्दा पनि देशभरका ६ वटा हलमा प्रदर्शन भइरहेको छ।
हाल फिल्म काठमाडौंको सामाखुसीस्थित क्युएफएक्स सिटी स्क्वायर मल, कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा, र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा हेर्न सकिन्छ।
फिल्मको १०० औं दिनको अवसरमा निर्देशक मिलन चाम्सले दर्शकहरूलाई धन्यवाद दिँदै निरन्तर समर्थनको अपेक्षा राखेका छन्। उनले भने, “दर्शकको मायाले हामी यो यात्रामा यहाँसम्म आइपुगेका छौं, अझै धेरै टाढा जानुपर्ने छ।”
फिल्मले हालसम्म १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन्। यससँगै ‘अञ्जिला’ वर्ष २०८१ को शीर्ष ५ व्यापारिक फिल्ममा सूचीकृत भइसकेको छ।












