अनिता कोइरालाको जन्म वि.स २०२४ साल कात्तिक ८ गते सुर्खेतको विरेन्द्रनगर–४ मा भएको थियो । बुबा घनश्याम कोइरालाका दुई श्रीमती लिलादेवी र इन्द्रदेवीमध्ये अनिता इन्द्रदेवीकी छोरी हुन् ।
आमा इन्द्रदेवीको २०५५ सालमा निधन भयो भने बुबाको २०७२ सालमा निधन भएको थियो । औपचारिक शिक्षालाई कक्षा १० सम्म मात्र पुर्याएकी अनिता हाल विरेन्द्रनगर ४ सुर्खेतस्थित आफ्नै घरमा बस्दै आएकी छिन् । अनिता अहिले आफ्नो राजनीतिक यात्रालाई बिट मार्दै सुस्ताउँदै छिन् ।
हिजो २०३६ सालमा भएको किसान आन्दोलनको बलियो खम्बाको रुपमा चिनिएकी कोइराला २०६२-०६३ सम्म पनि कृयाशिल रुपमा राजनीतिमा विभिन्न तहको विभिन्न पदमा रहेर काम गरेकी थिइन् । तर आज किन राजनीतिमा सुस्ताउनु भएको भन्ने प्रश्नमा सिँधा उत्तर थियो, ‘नेतृत्वको कार्यशैली अनि कार्यकर्तामा देखिएको अराजकता र चाकरीबाजी ।’
किन यत्ति धेरै आक्रोस् हो भन्ने प्रश्नमा उनको छोटो प्रतिकृया थियो, ‘हिजोको कुनै पनि राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताले निष्ठाको राजनीति गर्नुहुन्थ्यो । त्यो देखेर हामी पनि राजनीतिक गर्न उत्साहित भएका थियौं र भोक तिर्खा निन्द्रा अनि रात बिहान केही नभनी पार्टीको काममा हिँड्थ्यौ, तर आज त्यस्तो समय छैन ।’
हिजो जनताको बीचमा हर समय पुग्ने नेताहरु आज शहर केन्द्रित भएका छन् भने कार्यकर्ताहरु पनि त्यसैको पछि लागेर नेताहरुको अघि र पछि गर्नमा नै व्यस्त छन् । यसलेनै जनताको राजनीतिक दलहरुप्रति निरासा देखिएको छ ।
परिवार र प्रारम्भिक प्रभाव
राजनीतिक इतिहासलाई पल्टाउँदा अनिता भन्छिन्, ‘औपचारिक रुपमा बुबाको पेशा शिक्षण थियो । बाँकी समय सामाजिक काममा पनि त्यतिकै व्यस्त हुनुहुन्थो । सायद बुबाको प्रभावले होला आमाहरु दुबै जना पनि सामाजिक काममा संलग्न हुनुहुन्थ्यो । हाम्रो परिवार सबै हिसाबले सम्पन्न त होइन, तर पनि अरुलाई परेको पिडामा साथ सहयोग गर्ने परिवार नै हो ।’
त्यसैले उनको घरमा प्रायः घरबाहिरका मानिसहरुको जमघट भइरहेको हुन्थ्यो । अनिता थप्छिन्,‘बुबा राजनीतिक क्षेत्रमा सकृय भएसँगै आमाहरुले पनि बुबालाई साथ दिनुभयो । हामी पनि स्कूल पढ्दापढ्दै विद्यार्थी राजनीतिमा लागेर विद्यार्थी हक हितका निम्ती र महिला अधिकारका निम्ति अगाडि बढ्यौ ।’
त्यसैले अनिताको बाल्यकाल सामाजिक कार्य, पारिवारिक संस्कार र जनताको सेवा भावले भरियो । उनका बुबाको शिक्षकीय पेशा र आमाहरूको सामाजिक योगदानले उनलाई सानैदेखि नेतृत्व र सामाजिक चेतनामा सक्रिय बनायो । घरमा प्रायः सामाजिक विषयमा छलफल र घरबाहिरका मानिसहरूको जमघट हुने हुँदा राजनीति र सामाजिक कार्यमा रुचि बढ्न थाल्यो ।
विद्यार्थी जीवन र राजनीतिक प्रारम्भ
अनिताले प्रारम्भिक शिक्षा विरेन्द्रनगरमै पाएकी हुन्। औपचारिक शिक्षा कक्षा १० सम्म सीमित भएतापनि उनी राजनीतिक चेतनामा अग्रसर थिइन् । उनी ६ कक्षादेखि विद्यार्थी संगठनमा संलग्न भइन् । २०३६ सालमा विरेन्द्रनगरमा भएको किसान आन्दोलनले उनको जीवनमा निर्णायक भूमिका खेल्यो ।
किसान आन्दोलनको क्रममा विद्यार्थी र शिक्षकहरूले आन्दोलनलाई समर्थन गरे । अनिताले पनि आफ्नो साथीहरूसँगै जुलुस र आन्दोलनमा सहभागी भइन् । त्यसदिन मंगलबार थियो र उनी ब्रत बसेकी थिइन् । तर आन्दोलनमा सहभागी हुन उनले ब्रत तोडिन् । यस अनुभवले उनलाई जीवनभर राजनीतिक चेतना र सामाजिक उत्तरदायित्वको अनुभूति दिलायो ।

उनी भन्छिन्,‘हामी स्कूल पढ्दापढ्दै विद्यार्थी राजनीतिमा लागेर विद्यार्थी हक हितका निम्ती र महिला अधिकारका निम्ती अगाडि बढ्यौं । २०३६ सालको आन्दोलमा पनि म हाइस्कूल पढ्थे । हाम्रो शिक्षक बालाराम सर जो तत्कालिन राजनीतिमा निकै सकृय हुनुहुन्थ्यो, तर पेशाले भने शिक्षक हुनुहुन्थ्यो । बालाराम सर हाम्रो पनि शिक्षक हुनुहुन्थ्यो, उहाँले सुर्खेतको जनता माध्यामिक विद्यालयमा पढाउनुहुन्थ्यो । त्यस्तै राजनीतिलाई अगुवाई गर्नेहरु हाम्रो स्कूलमा अगुवा नेता मेघ बहादुर बोहरा हुनुहुन्थ्यो, नारायण कोइराला अनि अरु-अरु पनि हुनुहुन्थ्यो । उहाँहरुको अगुवाईमा विद्यार्थी सगठनको स्थापना भयो जुनबेला म ६ कक्षामा पढ्थे ।’
अनिता थप्छिन्,‘२०३६ सालकै कुरा हो, किसान आन्दोलन चर्किरहेको थियो । किसानहरुको चर्किंदो आन्दोलनलाई शिक्षक तथा विद्यार्थीहरुले पनि साथ दिइरहेका थिए । २०३६ साल जेठ १५ गतेको दिन थियो । किसानको जुलुस विरेन्द्रचोक हुँदै आइरहेको थियो, जुलुसले तोडफोड गर्ने थाले । अगुवा दाजुहरु, शिक्षकहरुले हामीलाई पनि हिँड भने हामी पनि जुलुसमा हिँड्यौ । मंगलबार परेको हँुदा म ब्रत पनि बसेको थिए त्यो दिन बुबाहरु किसान आन्दोलनमा हुनुहुन्थ्यो । मलाई एक जनाले भन्नुभयो नानी नानी तिम्रो बुबालाई त पुलिसले लगे, अनि म घर गए । आमाले दालभात छ खा भन्नु भयो मैले ब्रत भन्ने होसै भएन दालभात खाए । ब्रत बसेको पनि बिर्सीएछु र मैले भोकको सुरुमा खाना खाए, त्यस्तो पनि भएको छ । त्यस पछि मैले कहिल्यै ब्रत बसेको छैन र अब म बस्दिँन पनि । त्यसो भनिरहँदा म नास्तीक पनि होइन । मैले खाना खाइसकेपछि आमाले भन्नुभयो बुबा आउनु भएननी मैले भने बुबालाई पुलिसले लग्यो ।’
बुबा जेल परेपछि घरमा एक प्रकारको सन्नाटा थियो । अनिता भन्छिन्,‘आमाहरु कहिले छोड्छ के भइरहेको छ भन्ने कुरामा निकै चासो दिनुहुन्थ्यो । बस्नुहुन्थ्यो भने ममा भने के के बल्झी रहेको थियो । यसो गर्दा गर्दै बुबा ९ महिना जेल बस्नुभयो । बुबासँगै त्यो समयमा बालाराम सर लगायतका अन्य धेरै शिक्षकहरु जेल पर्नु भएको थियो ।’
बालाराम सर लगायतलाई कार्यक्रम भइरहेको स्थानमा प्रहरीले हस्तक्षेप गर्यो निकै कुटपिट गर्यो । मैले अब सरलाई मार्ने भए भन्ने सोंचे र बालाराम सरलाई छेक्न गए त्यति बेला प्रहरीसग मेरो र मेरो आमा अनि त्यति बेलाका धेरै महिला दिदीबहिनीहरुको प्रहरीसँग झडप भयो । आमाले प्रहरीको बन्दुकलाई आफ्नो खुटाले टेकेर उनीहरुलाई पछार्नुभयो हामीलाई पनि प्रहरीले लछारपछार गर्यो ।’
अन्ततः महिलाहरुको जोडबलले त्यो घटनामा उनीहरुले बालाराम सरलाई जोडाए । त्यो सयममा प्रहरीले अनिताको आमालाई गरेको बल प्रयोगले बेहोस नै हुनुभएको थियो ।
विद्यार्थी संगठन र जेल जीवन

२०३८ सालतिर अनिता अनेरास्ववियुको जिल्ला कमिटीकी सदस्य बनिन् । उनी विद्यार्थी अधिकार, महिला सशक्तिकरण र जनताको हकहितका लागि सक्रिय भइन् । उनी संगठन निर्माण, जनताको घरघरमा पुग्ने, प्रशिक्षण दिने र आन्दोलनमा सहभागिता जुटाउने काममा संलग्न भइन् ।
२०४५–४६ सालमा विद्यार्थी आन्दोलन अझ तीव्र भयो । अनिता भन्छिन्,‘ म ८ कक्षा पढ्ने बेला २०३८ सालतिर अनेरास्ववियुको प्राकमा बसेको थिए, त्यातिखेरै म अनेम संघको जिल्ला कमिटीको सदस्य पनि भए । मैले अनेरास्वबियुको जिल्ला कमिटीको सदस्य, सचिव र कोषाध्यक्ष पदसम्म समालेको हो ।’
अनिताको घरमा अनेरास्वव्युको बैठक बसिहेको थियो । अनिता स्मरण गर्छिन,‘हामी मध्येकै साथीले दिएको सुराकीको आधारमा अरु साथीहरुसहित म पनि बैठक स्थलबाट नै समातिए र २०४५ मा जेल परेको थिए ।’
प्रारम्भमा उनलाई सुर्खेतमा तीन महिना थुनामा राखियो र पछि नेपालगञ्ज सरुवा गरियो । जेल जीवन कठिन भएपनि अनिताले आमाको सहयोग र सहानुभूति पाउँदै आफ्नो राजनीतिक प्रतिबद्धता अझ बलियो बनाइन् ।
जेलमा जीवन बिताउने क्रममा उनले दैनिक आवश्यकता र सुरक्षा चुनौतीको सामना गर्नुपर्यो । अनिता भन्छिन्,‘जेल जीवन निकै कठिन थियो । मैले आमाले ल्याएको टिफिनको बटामा खाना खाएर सुरक्षित महसुस गर्नुपथ्र्यो । राति पिसाब जानुपर्दा पनि सुरक्षा कारणले टाढा जान सक्दिन थिएँ । तर यी सबै कठिनाइहरूले मेरो राजनीतिक संकल्प अझ बलियो बनायो ।’
पार्टी नेतृत्व र राजनीतिक संघर्ष
अनिताले पार्टीभित्र विभिन्न नेतृत्व पदहरू सम्हालेकी छन् । उनी सुर्खेत जिल्लामा अखिल नेपाल महिला संघकी अध्यक्ष र केन्द्रीय सदस्य छिन् । पार्टीभित्र आन्तरिक द्वन्द्व र गुटगत विवाद तीव्र भएतापनि उनी निरन्तर सक्रिय रहिन् ।
२०६५ सालमा सह–सचिव पदको उम्मेदवारी दिँदा गुटगत कारणले हार भोगेपछि उनले केही समय निष्क्रिय रहनु प¥यो । उनले यस अवस्थालाई स्वीकार गर्दै भनिन् ‘म साथीहरूले मलाई मनोनित गर्ने तयारी गरे पनि मेरो इच्छा थिएन । पहिले हार भोग्दा केहि सिके, त्यसपछि नयाँ साथीहरूले काम गर्दा हुन्छ भन्ने सोच राखेर पछि सरे ।’
२०७० सालमा पार्टीको आयोजनामा जेलमा रहेकाहरूलाई सम्मान गर्ने कार्यक्रममा अनिता पनि सहभागी भएकी थिइन् । यसपछि उनी पार्टीमा सक्रिय सदस्य भएपनि प्रायः निष्क्रिय रहिन् । वर्तमानमा पार्टीमा सक्रिय रहने वा नेतृत्व गर्न कुनै नयाँ सहयोगी नभएको कारण उनले स्वतः निष्क्रियता रोजेकी छन् ।
राजनीतिक अनुभव र नेतृत्वको दर्शन
अनिताको राजनीतिक जीवनले संघर्ष, धैर्य र प्रतिबद्धता नेतृत्व विकासको प्रमुख आधार हुन् भन्ने देखाउँछ । उनी भन्छिन्, ‘हिजोका नेता र कार्यकर्ताले निष्ठापूर्वक राजनीति गर्थे। हामी पनि प्रेरित भएर राजनीति गर्न उत्साहित थियौं । आजको अवस्थामा नेताहरू केवल आफ्नो स्वार्थमा केन्द्रित छन् । यसले जनताको विश्वास घटाएको छ ।’ उनको दृष्टिकोणले वर्तमान राजनीतिमा पारदर्शिता, निष्ठा र जनताको सेवामा केन्द्रित नेतृत्वको महत्व स्पष्ट हुन्छ । उनले आफ्नो अनुभवबाट सिकेका मूल्य र सिद्धान्तले भविष्यका महिला नेताहरूलाई मार्गदर्शन गर्न सक्छ ।
व्यक्तिगत जीवन र सामाजिक प्रतिबद्धता
अनिताको जीवन केवल राजनीतिक मात्र होइन, सामाजिक योगदान र पारिवारिक संस्कारले पनि प्रेरित छ । उनको परिवारले सधैं जनताको सेवा र सामाजिक कार्यमा योगदान दियो । बाल्यकालदेखि सामाजिक चेतना र परिवारको प्रभावले उनलाई नेतृत्व र प्रतिबद्धता सिकायो ।
उनले महिला सशक्तिकरण, विद्यार्थी अधिकार र सामाजिक न्यायका लागि निरन्तर काम गरिन् । जेल जीवन, पार्टी नेतृत्व र राजनीतिक संघर्षले उनको चरित्रमा सहनशीलता, अनुशासन र समाजप्रति समर्पणको भावना विकास गर्यो ।
वर्तमान अवस्था र दृष्टिकोण
आज अनिता कोइराला राजनीतिक रूपमा निष्क्रिय भए तापनि उनी समाज र राजनीतिक घटनाक्रमसँग अपडेट रहन्छिन् । उनी भन्छिन् ‘आफ्नो राजनीतिक निष्क्रियता व्यक्तिगत निर्णय हो ।’
तर उनी अनुभव र शिक्षाबाट समाजमा योगदान दिन इच्छुक छिन् । उनले भविष्यमा पनि सामाजिक न्याय, महिला अधिकार र जनताको हकहितमा आफ्नो योगदान जारी राख्ने योजना राखेकी छन् । उनको जीवनले चुनौतीपूर्ण परिस्थितिमा पनि धैर्य, साहस र प्रतिबद्धता राखेर नेतृत्व र योगदान दिन सकिन्छ भनेर पाठ लिन सकिन्छ ।
प्रेरणा र शिक्षा
अनिताको जीवन प्रेरणादायी छ । उनी समाज र राजनीतिक जीवनमा संघर्ष, नेतृत्व र निष्ठाको प्रतीक हुन् । उनको अनुभवले हामीलाई संघर्ष, परिवारको समर्थन, धैर्य र प्रतिबद्धता नेतृत्व विकासको आधार हुन् भन्ने सिकाउँछ ।
उनको जीवनले आगामी पुस्तालाई कठिनाइ, चुनौती र असफलताले मानिसको प्रतिबद्धता र चरित्रलाई कमजोर बनाउँदैन; बरु अझ बलियो बनाउँछ भन्ने प्रेरणा दिन्छ । अनिताको यात्रा महिला नेतृत्व, राजनीतिक संघर्ष र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो ।
अनिता भन्छिन्, ‘पार्टीबारे विभिन्न सञ्चार माध्यममार्फत जानकार छु, तर म पछिल्लो समयमा प्रायः राजनीतिमा निस्कृय नै छु, कसैप्रति गुनासो छैन, समय अनुसार म नै चल्न सकिन होला ?, त्यो मेरो कमजोरी हो भनेर आफैले आफैलाइै सम्झाउँछु । मैले हिजो राजनीति गर्दै गर्दा पढाइलाई पनि निरन्तरता दिन सकिँन, जुन अहिले मेरो कमजोरी भयो होला भन्ने लाग्छ । अहिले म जहाँ छु जे छु यसैमा म खुसी छु ।’












