काठमाडौं । महिलालाई अनिवार्य रुपमा कुटनीतिक तहमा पुर्याउन आवश्यक नीति निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
१६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘कुटनीतिमा महिला नीति संवाद’ विषयक कार्यक्रममा सहभागीहरुले सक्षम महिला निर्माणको लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
अनेमसंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतमा भएको कार्यक्रममा अमेरिकाका पूर्व राजदूत डा.अर्जुन कार्की, इजरायलका पूर्व राजदूत डा.अन्जान शाक्य, अष्टेलियाका पूर्व राजदूत लक्की शेर्पा, चीनका पूर्व राजतदूत टंक कार्की, मलेसियाका प्रस्तावित राजदूत डा. नेत्र तिमेल्सेना, दक्षिण कोरियाका प्रस्तावित राजदूत डा. शिवमाया तुम्बाहाम्फे, डेनमार्कका प्रस्तावित राजदूत सुम्निमा तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष हमालले नेतृत्वमा महिला सहभागीता र कार्य अनुभवबारे छलफल गर्दा भावी दिनमा उनीहरुको कार्यकाल प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । पूर्व राजदूतको अनुभव सुन्न पाउँदा नयाँहरुलाई काम गर्न सजिलो हुने उनको भनाइ थियो ।
कार्यक्रममा अनेमसंघका विदेश विभागकी पूर्व सदस्य उषाकिरण भण्डारीले कुटनीतिमा महिलाको सहभागीताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले नेपालसहित विश्वभरका महिलाहरुको कुटनीतिमा कस्तो उपस्थिति छ भन्ने विषयमा जानकारी गराएकी थिइन् ।
कुटनीतिमा महिला सहभागीतालाई हेर्दा नेपाल विश्वमै ५२ औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय रुपमा भएको विभिन्न सवालको प्रगति, विकास बारेमा जानकार नहुनु, महिलालाई माथिल्लो तहमा पु¥याउनुको लागि पैरवी अति कम हुनु, उच्च ओहदामा पुर्याउनुपर्छ भन्ने सोचको नै विकास नहुनु र त्यसका लागि रणनीतिक नीति कानुन हुन नसक्दा उनीहरु कुटनीति तहमा पुग्न नसकेको कार्यक्रममा औंल्याइएको थियो ।
कार्यक्रममा चीनका पूर्व राजतदूत टंक कार्कीले राजदूत हुन व्यक्ति आफैंले पनि तयारी गर्नुपर्ने बताए । यसका लागि सम्बन्धित मुलुकका पूर्व राजदूत, राजनीतिक विश्लेषकसँग छलफल गर्नुपर्ने, राजदूतको काम, कतव्र्यका विषयमा जानकारी हुनुपर्ने बताए ।
इजरायलका पूर्व राजदूत डा.अन्जान शाक्यले कुटनीतिक तहमा जाँदा सम्बन्धित मुलुकको समस्याबारे जानकार हुनुपर्ने भन्दै तयारी र योजनासहित जानुपर्ने बताइन् ।
अष्टेलियाका पूर्व राजदूत लक्की शेपाले आफू जाने मुलुकको संस्कार, संस्कृति भाषाबारे जानकार हुनुपर्ने बताइन् । उक्त मुलुकमा भएका नेपालीको अवस्था कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको उनले बताइन् ।
अमेरिकाका पूर्व राजदूत डा.अर्जुन कार्कीले धेरै मुलुकमा नेपाली राजदूतावास रहेपनि आवश्यक सेवा सुविधा दिन नसकिएको बताए । उनले राजदूतहरुको कार्य दक्षताको सम्मान भए मुलुकलाई आर्थिक भार कम हुने बताए ।
डेनमार्कका प्रस्तावित राजदूत सुम्निमा तुलाधरले कोहि कहिलै पनि न्याय पाउनबाट बञ्चित हुन नहुने बताइन् ।
मलेसियाका प्रस्तावित राजदूत डा.नेत्र तिमिल्सिना ले कुटनीतिक नियुक्ति राजनीतिक दलको अवस्थामा निर्भर हुने भएकोले पार्टीले नै लैंगिकमैत्री भएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा अनेमसंघ इन्चार्ज सिता पौडेलले स्थापनादेखि नै संघले समान सहभागीताको पक्षमा पैरवी गर्दै आएको बताइन् ।
अखिल नेपाल महिला संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा मंगलबार बिहान वाकाथन तथा नाटक प्रदर्शन गरेको थियो । भद्रकालिबाट सुरु भएको वाकाथन भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापनमा अनेमसंघको कला साहित्य संस्कृति तथा खेलकुद विभागले ‘बन्दकी’ नामको नाटक प्रस्तुत गरेको थियो ।