काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिन भनेपछि संसद्मा हंगामा भएको छ। बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेता बाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए।
‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ,’ उनको भनाइ छ, ‘बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउ, अमेरिकालाई दिउ, भारतलाई दिउ, चीनलाई दिउ।’
सिंहले थपे, ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने?’ उनले यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।
‘छलफलमा सहभागी मानीय सदस्यले आपत्तिजनक विषय राख्नुभयो,’ बर्तौलाले भने, ‘विनियोजन छलफलमा भाग लिनु भएको छ। देशलाई अर्को कुनै देशलाई दिउ भनिरहनु भएको छ। यो देशद्रोही अभिव्यक्ति हो। यो कारबाहीको विषय हो।’

उनले थपे, ‘यो रेकर्डबाट हटाउने मात्रै होइन। उहाँलाई बोल्न दिने कुरामा पनि ख्याल गर्नुपर्छ। उहाँलाई यो भन्दा अगाडि बढ्न दिनु हुँदैन। कारबाहीको विषय बनाइयोस्। रुलिङ होस्।’
लगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए। ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’
तर, सभामुखको रुलिङपछि पनि सांसद सिंह आफ्नो भनाइ राख्नबाट रोकिएनन्। सभामुखको रुलिङ आफूले नमान्ने भन्ने भन्दै भनाइ जारी राखे।
त्यसपछि सत्तारुढ दलका सांसदहरु उठेर उनको विरोध गरेका थिए। सांसद सिंहविरुद्ध नाराबाजी थालेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहलाई आफ्नो भनाइ बन्द गर्न आदेश थिएका थिए।












