काठमाडौं । अमेरिकाको टेक्सास राज्यको ड्यालसमा एक भुटानी शरणार्थीले पत्नी र छोरालाई गोली हानी हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्।
फक्स फोर न्युजका अनुसार शनिबार बिहान ड्यालसको डडली स्ट्रिटस्थित एक घरमा ५३ वर्षीय ललित प्रधानले आफ्नी पत्नी ३७ वर्षीया रजनी श्रेष्ठ प्रधान र ३ वर्षीय छोरा प्रनिशलाई गोली हानी मारेका हुन्। घटनास्थलमै रजनी र प्रनिशको मृत्यु भएको थियो भने ललित गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ललित सन् २००८/०९ तिर शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत नेपालका भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगेका थिए। अमेरिका जानुअघि उनी मोरङको पथरी शिविरमा बस्दथे।
घटनाअघि ललितले शनिबार बिहान फेसबुकमा मेडिकेटलगायतका सुविधा नहुँदा समस्या भइरहेको उल्लेख गर्दै स्टाटस लेखेका थिए। रजनीको माइती काठमाडौं रहेको एक भुटानी समुदायका अगुवाले जानकारी दिएका छन्।












