काठमाडौं । अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले अनेमसंघले पार्टीमै आन्तरिक प्रतिस्पर्धा गर्न जरुरी रहेको बताएकी छन् । अखिल नेपाल महिला संघले शुक्रबार आफ्नै कार्यालयमा आयोजना गरेको विभाग प्रमुख, प्रदेश र क्षेत्रिय महिला नेताहरुसँगको बैठकमा हमालले यस्तो बताएकी हुन् ।
उनले पार्टीमा महिलाको उपस्थित उल्लेख्य बढाएर आफ्नो काम देखाउनुपर्ने बेला आएको बताइन् । नेकपा एमालेलाई बाह्य र देश भित्रैको विभिन्न तत्वहरुबाट आक्रमण भइरहेको भन्दै एमालेले मंसिर ७ गते बृहत जागरण सभाको आयोजना गर्दैछ ।
सो जागरण सभामा महिलाको उल्लेख्य उपस्थिति देखाएर आन्तरिक प्रतिस्पर्धामा खरो उत्रन अध्यक्ष हमालले बैठकमा सहभागीलाई निर्देशन दिएकी हुन् । उनले जिल्ला, प्रदेश, नगर हुदै टोल टोलबाट महिलालाई सभामा सहभागी गराउन निर्देशन दिइन् ।
अनेमसंघको केन्द्रीय कमिटीको बैठकले काठमाडौं उपत्यकाबाट मात्र कम्तिमा १३ हजार महिलालाई सडकमा उतार्ने निर्णय गरेको छ ।
उनले यसलाई आन्दोलनको रुपमा प्रस्तुत गर्ने नभएर आफ्नो क्षमता र तागत देखाउने राम्रो अवसर भएको उल्लेख गरिन् ।
अनेमसंघले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्ध दिवसलाई समेत भब्य बनाउन तयारी गरेको छ ।
महिला हिंसाविरुद्ध सँगसँगै भन्ने नारासहित यो वर्षको महिला हिंसाविरुद्धको दिवस मनाउन लागिएको हो ।
सो अभियानलाई अनेमसंघले विभिन्न कार्यक्रम गर्दै मार्च ८ (अन्तर्राष्ट्रिय महिला दिवस)सम्म लैजाने भएको छ । यही बीचमा अनेमसंघले संविधान संशोधनका लागि पनि महिलाहरुबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि अनेमसंघ केन्द्रीय कमिटीले मातहतका निकायलाई सुझाव संकलनको लागि निर्देशन समेत दिएको छ ।

अनेमसंघका अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारीहरु विमला राई पौडेल, शर्मिला कार्की, पेम्बा लामा लगायत विभागका प्रमुख, उपप्रमुख तथा नगर र प्रदेश प्रमुखहरुको उपस्थिति थियो ।












