काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।
आयोगका अनुसार मुनकर्मीसँग कुल ६ करोड २४ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको छ। सोमध्ये २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरिएको छ।
अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि आयोगले उनकी श्रीमती पूर्ण कुमारी गोसाईविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ। आयोगको अभियोगमा मुनकर्मीले आफ्नो पद र हैसियतको दुरुपयोग गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको उल्लेख छ।
मुनकर्मी पछिल्लो समय पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको रूपमा कार्यरत थिए। मुद्दा दायर भएसँगै यस विषयमा थप अनुसन्धान र न्यायिक प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ।












