काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई वडा नम्बर ६ मा सम्पन्न पक्की नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानपछि साहले भुक्तानीका लागि घुस मागी लिएको प्रमाणित भएको आयोगको भनाइ छ। सोही आधारमा आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर गरेको ठहर गर्दै १ लाख रुपैयाँ बिगो कायम गरी कैद सजाय र बिगोअनुसार जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।












