काठमाडौं । नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’को एक महत्त्वपूर्ण दृश्य काभ्रेको ऐतिहासिक पनौती बजारमा छायांकन गरिएको छ। मंगलबार दिउँसो सम्पन्न भएको छायांकनमा फिल्मको २ मिनेट ३५ सेकेण्ड लामो ओपनिङ दृश्य खिचिएको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिए।
पनौतीमा खिचिएको दृश्यमा कलाकार विजय लामा, दीया पुन र एक बालकलाकारको अभिनय देख्न सकिनेछ। कथानुसार, विजय र दीया फिल्ममा अन्तरीक्षयात्रीको भूमिकामा छन्। अन्तरीक्षमा प्रस्थान गर्नु अघिको तयारी र तनावको क्षणलाई पनौती बजारमा छायांकन गरिएको हो।
फिल्मको कथा सन् २०३० सम्म फैलिएको खतरनाक जोम्बी भाइरसको संक्रमणपछि मानिसले पृथ्वी त्याग्नुपरेको काल्पनिक भविष्यमा आधारित छ। त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (जेमी बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा आकस्मिक अवतरण गर्छन्। उनीहरू एक गुफाभित्र लुकेको रहस्यमय सहर फेला पार्छन्, जहाँ प्रदीप खड्काले निभाएको पौराणिक संरक्षकको भूमिकामा रहेको पात्रसँग भेट हुन्छ।
प्रदीप शाहीको निर्देशनमा तयार भइरहेको यो फिल्म यस वर्षको कान्स फिल्म फेस्टिभलको Cannes Market मा पिच भइसकेको छ। फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकन छन्।
निर्माण नियन्त्रक सुवेदीका अनुसार अब फिल्मको एक प्रवर्धन गीतको छायांकन मात्रै बाँकी रहेको छ।












