काठमाडौं । बहुविवाहसम्बन्धी कानूनी संशोधन प्रस्तावप्रति अखिल नेपाल महिला संघले गम्भीर आपत्ति जनाएको छ । संघका कावा अध्यक्ष मेनका पोखेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरूले पितृसत्तात्मक उत्पीडनबाट मुक्ति पाउन दशकौँ लामो संघर्ष गरेका छन्, तर हाल प्राप्त अधिकारहरु कमजोर पार्ने प्रयास भइरहेको देखिन्छ ।’
विज्ञप्तिमा राजनीतिक प्रतिनिधित्वमा गठबन्धनका कारण सहभागिता घट्ने, विवाहको उमेर घटाउने जस्ता कानुनी प्रयास, र समानताको नाममा पछाडि पार्ने प्रवृत्तिको विरोध गरिएको छ ।
विशेष गरी मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निर्धारित परिस्थितिमा बहुविवाहलाई वैधानिकता दिने सरकारको तयारीप्रति संघले कडा आपत्ति जनाएको छ ।
संघले भनेको छ,‘पितृसत्तात्मक सामाजिक संरचनाले महिलालाई शक्ति, सत्ता र सम्पत्तिबाट वञ्चित गरेको वर्तमान अवस्थामा यस्तो संशोधनले महिलामाथिको उत्पीडन थप संस्थागत गर्ने खतरा छ ।’
संघले नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई उक्त प्रस्तावित कानूनी संशोधन तत्काल रोक्न जोडदार माग गरेको छ । संघका कावा अध्यक्ष पोखेलले यो विषयमा महिला समाज सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै, संशोधन अगाडि बढेमा थप संघर्षमा जाने चेतावनी पनि दिएकी छन् ।













