काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अबदेखि खादा, माला तथा कुनै संस्था वा समूहको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न रोक लगाइएको छ।
बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमन क्षेत्र अत्यन्त संवेदनशील र सुरक्षामूलक भएकाले यस्तो निर्णय गरिएको जानकारी दिएको छ।
सूचनामा भनिएको छ, “यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन।”
कार्यालयका अनुसार यस्ता वस्तुहरूले सुरक्षा जोखिम बढाउने, अनावश्यक ढिलाइ गराउने र अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्ने भएकाले प्रतिबन्ध लगाइएको हो।
साथै, कुनै संस्था, समूह वा कम्पनीको पहिचान झल्किने पोसाक, टोपी, ब्याच वा अन्य चिन्हहरूको प्रयोगमा पनि पूर्ण रोक लगाइएको छ।
सूचनामा उल्लेख छ, “यात्रुबीच फरक व्यवहार भएको आभास हुन नदिन, असमानता नदेखियोस् र सुरक्षा संवेदनशीलतामा प्रश्न नउठियोस् भनेर सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो।”
अध्यागमन कार्यालयले सबै पक्षलाई नियम पालना गर्न आग्रह गर्दै उल्लङ्घन भए कानुनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ। नयाँ नियमले विमानस्थलमा अध्यागमन प्रक्रियालाई थप सुरक्षात्मक, समान र मर्यादित बनाउने विश्वास व्यक्त गरिएको छ।













