काठमाडौं । जेनजी समूहले गरेको आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयहरूमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्।
गत मङ्गलबार भएको घटनामा ४४१ वटा चार पाङ्ग्रे र ६०१ वटा दुई पाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।
यो संख्या सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्र दैनिकको स्थलगत अवलोकनका आधारमा तयार गरिएको हो। तोडफोड मात्र भएका सवारीसाधन यसमा समावेश छैनन्। अधिकारीहरूका अनुसार वास्तविक क्षति अझै बढी हुने अनुमान गरिएको छ। सबै सवारीसाधनको आर्थिक मूल्याङ्कन गर्न समय लाग्ने बताइएको छ।
सडक विभागमा सबैभन्दा धेरै क्षति
सबैभन्दा धेरै सवारीसाधन सडक विभागका जलेका छन्। विभागका अनुसार त्यहाँ रहेका मोटरसाइकल र स्कुटर गन्नै नसकिने गरी नष्ट भएका छन्। त्यसपछि सर्वोच्च अदालतमा ५१ वटा चार पाङ्ग्रे र अनगिन्ती मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागमा ५० गाडी र करिब २०० मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर जलेका छन्।
त्यस्तै अर्थ मन्त्रालयमा ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ साना गाडी, दुई बस र ३६ मोटरसाइकल नष्ट भएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले जानकारी दिनुभयो।
प्रारम्भिक तथ्यांकले मात्रै एक हजारभन्दा बढी सवारीसाधन नष्ट भएको देखाए पनि वास्तविक संख्या अझै बढ्ने अनुमान गरिएको छ। विभिन्न मन्त्रालयका आन्तरिक तथ्यांक संकलन भइरहेकाले केही दिनमै विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।












