धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीनजिकै भैसीगौडामा यात्रुबस त्रिशुली किनारमा खस्दा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
१७ जनाको घटनास्थल र एक जनको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब साढे १ बजे त्रिशुली किनारमा खसेको थियो।
दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए। बसमा ४४ जना सवार थिए।












