रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठबिसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्।
घाइते हुनेमा १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेका छन्।
नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने गम्भीर घाइते १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब ७०० मिटर तल खसेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार ओभरलोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूले राति नै उद्धार कार्य सम्पन्न गरेका थिए। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।












