कैलाली । कैलालीको लम्कीचुवा नगरपालिका अन्तर्गत धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज बिहान अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद, र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा घाइते भएका नौ जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई सडक छेउको खोला किनारमा पल्टिँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












