अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–ढोरपाटन सडकखण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स जीप आज बिहान सन्धिखर्क–९ टारीमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।
दुर्घटनामा घाइते भएका २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












