काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भई नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका १० वर्षीय बालक सनसाइन तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ। ३ जनाको अवस्था गम्भीर रहेको छ। १० जना विभिन्न अस्पतालमा उपचाररत छन्। ३२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
दुर्घटनाकै दिन ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो। यही माघ ३० गते चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए। पिकनिक गएर फर्कने क्रममा उनीहरू सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो। बसमा सवार ४६ जना घाइते भएका थिए।
प्रहरीका अनुसार उक्त दुर्घटनामा घाइते भएकी ३७ वर्षीया गोमा थापा र १३ वर्षीय शक्सेस खड्काको अवस्था गम्भीर रहेको छ। नगरकोटबाट साँखु आउँदै गरेको उक्त बसको बेक्र फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।












