काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।
भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।
बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।












