काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो।
केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले २५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो। अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताए।
आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ।












