काठमाडौं । प्रतिनिधि सभाका संसद्ले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद राजेन्द्र बजगाईँ, एमाले सचेतक सुनिता बराल लगायतका सांसदले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद बजगाईँले सौर्य एयरलाइन्सको विमान दुर्घटना र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो अवस्था आउन नदिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलेको ध्यानाकर्षण समेत गराए । उनले सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर विभेद गरेको भन्दै आपत्ति पनि जनाए ।
सांसद बजगाईँले भने, ‘नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सभामुखज्यूले रुलिङ नै गर्नुपर्छ। हुनत बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ। हामीले आधा झण्डा झुकायौँ हवाई सेवा दुर्घटनाको सन्दर्भमा। तर ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ। सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि यो विषयमा रुलिङ गरिदिनु प¥यो।’
एमालेकी सचेतक बरालले सरकारले हवाई र सवारी दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।












