काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय(टिआरसी)सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच टिआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठकमा त्यस्तो सहमति जुटेको हो। संयन्त्रमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा छन्।
बैठकपछि माओवादी उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको र सोमबार सरोकारवालहरूसँग छलफलपछि संयन्त्रको बैठक बसेर अन्तिम रूप दिइने बताए।
एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठकमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए।
पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाको भनाइ छ।












