काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरू र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेको बताए ।
उनले कार्यदलको बैठक आज नै बस्ने र उपसंयोजक र सचिव छनोट गरिने बताए । उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ ।
बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीको सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताए । कर्णाली विशेष अभियान भदाै दोस्रो सातादेखि सुरुवात गर्ने बताए । पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने उनले बताए ।
उनले केन्द्रीय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने, कार्यविधि आफैँले प्रस्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रस्ताव गर्ने सैद्धान्तिक सहमति भएको बताए ।
कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाइएको भनिएको पत्र दूतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताए ।












