काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले वृद्धि भएको छ।
आज कारोबारमा आएका ३२० कम्पनीको तीन करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ।
बढेको बजारमा बिहीबार उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरका लगानीकर्ताले उच्च प्रतिफल आर्जन गरेका छन्। यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, मितेरी विकास बैंकका लगानीकर्ताको सेयर मूल्यमा ७.५६ प्रतिशतले गिरावट आएको छ। मान्डु हाइड्रोपावर ४.६८ प्रतिशतले घटेको छ।
नेप्सेका १३ उपसमूहमध्ये चारवटाको सूचकमा गिरावट आएको छ भने बाँकी नौवटाको सूचकमा वृद्धि भएको छ।
लघुवित्त उपसमूह सबैभन्दा धेरै ६.८३ प्रतिशतले बढ्दा निर्जीवन उपसमूह करिब तीन प्रतिशत तथा बैंक र वित्त उपसमूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्। विकास बैंक, जलविद्युत्, लगानी र अन्य उपसमूहको सूचक एक प्रतिशतभन्दा कमले गिरावट भएका छन्।












