काठमाडौं। दसैंमा घर फर्किने यात्रुका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला भएसँगै बिहानैदेखि बसपार्कमा यात्रुको भीड लागेको छ।
यातायात व्यवस्था विभागले यात्रुको चाप व्यवस्थापन गर्न फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि रुट परमिटसमेत खुला गरेको छ।
यात्रुको सुविधाका लागि १५ स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। तोकिएभन्दा बढी भाडा लिने वा टिकटमा कालोबजारी गर्नेविरुद्ध सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा उजुरी गर्न सकिने विभागले जनाएको छ।












