काठमाडौं। देशभर पछिल्ला दिनमा देखिएको तुलनात्मक रूपमा सफा मौसम आगामी तीन दिन पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार, बुधबार र बिहीबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना छैन।
महाशाखाका मौसमविद् डेभिड ढकालले मंगलबार बिहान १० बजे जारी गरेको भिडियो सन्देशमा आगामी तीन दिन वर्षाको खासै सम्भावना नरहेको बताएका हुन्।
उनका अनुसार पछिल्लो २४ घण्टामा पनि देशका अधिकांश भूभागमा उल्लेख्य वर्षा भएको छैन। दिउँसो घाम लाग्ने र बिहान विशेषगरी तराई तथा उपत्यकामा हल्का हुस्सु लाग्ने अवस्था देखिएको उनले बताए।
‘भोलि र पर्सिका लागि वर्षाको खासै सम्भावना देखिँदैन। यद्यपि दिउँसो तथा साँझतिर एक–दुई स्थानमा हल्का किसिमको वर्षा हुने देखिन्छ। त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानमा पनि वर्षाको सम्भावना देखिँदैन,’ मौसमविद् ढकालले भने।
उनका अनुसार हाल धान काट्ने समय भएकाले आगामी केही दिनको मौसमले धान काट्ने काममा ठूलो असर गर्ने देखिँदैन।
‘वर्षाको सम्भावना कतै पनि देखिँदैन,’ उनले भने, ‘जसले गर्दा यतिबेला धान काट्ने समय भएका कारण धान काट्न वर्षाले या मौसमले त्यस्तो असर गर्ने देखिँदैन।’
यद्यपि सामाजिक सञ्जालमा वर्षा हुने भन्दै विभिन्न सूचना तथा खबरहरू फैलिएको भन्दै उनले आधिकारिक स्रोतबाट मात्र मौसमसम्बन्धी जानकारी लिन आग्रह गरेका छन्।
‘सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबरभन्दा तपाईंहरूले आधिकारिक जानकारी लिन हामी अनुरोध गर्छौँ,’ उनले भने। त्यसका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित सूचना हेर्न उनले आग्रह गरेका छन्।
महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बुधबार राति कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।












