काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा गर्ने लगानीसम्बन्धी व्यवस्था संशोधन गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार जारी गरेको परिपत्रमार्फत लगानी नीति तथा कार्यविधिसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो।
संशोधित व्यवस्थाअनुसार सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले ४५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्न पाउनेछन्। यसअघि यस्तो लगानीका लागि न्यूनतम होल्डिङ अवधि ६ महिना तोकिएको थियो।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाले सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाका शेयर, डिबेञ्चरलगायत उपकरणमा लगानी गर्दा सञ्चालक समितिबाट स्वीकृत लगानी नीति तथा कार्यविधि लागू गर्नुपर्ने व्यवस्था गरेको छ।
यस्तो नीतिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने उपकरण, बैंकिङ बुक तथा ट्रेडिङ बुकमा वर्गीकरण, न्यूनतम तथा अपेक्षित होल्डिङ अवधि र लगानी स्वीकृतिको प्रक्रिया समावेश गर्नुपर्नेछ।
त्यस्तै लगानीबाट उत्पन्न हुन सक्ने बजार, तरलता तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन र व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्नेछ। स्ट्रेस टेस्टिङलगायत बजार जोखिम मापनका विधि तथा वित्तीय उपकरणको जोखिमको नियमित मूल्यांकनसमेत गर्नुपर्नेछ।
लगानीसम्बन्धी निर्णय तथा कारोबारमा सहायक कम्पनी, उल्लेख्य स्वामित्व भएका शेयरधनी तथा अन्य सम्बन्धित पक्षसँग स्वार्थको द्वन्द्व हुन नदिने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित नियामकीय बफर शून्य प्रतिशत कायम गरिएको छ।












