काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेसँगै पोखराबाट दैनिक अन्तर्राष्ट्रिय हवाई सम्पर्कको सुरुआत भएको हो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब ४ घण्टा ३० मिनेटपछि पोखरा आइपुगेको हो। १ सय ६६ सिट क्षमताको विमानमा १ सय १३ यात्रु पोखरा आएका छन्। पोखराबाट भने १ सय ५३ यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे दुबई फर्किने तालिका छ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहरासहित स्वागत गरिएको थियो।
फ्लाई दुबईले अब पोखरा–दुबई रुटमा दैनिक नियमित उडान गर्नेछ। यो उडान दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ बाट सञ्चालन हुनेछ। एमिरेट्ससँगको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै विश्वका २ सय ५० भन्दा बढी सहरसम्म पुग्न सकिने कम्पनीले जनाएको छ।
फ्लाई दुबईका नेपालस्थित जेनेरल म्यानेजर नवराज शाहीका अनुसार प्रमुख गन्तव्यमा पोखराबाट हुने भाडा काठमाडौँको तुलनामा औसतमा ३ देखि ७ हजार रुपैयाँसम्म सस्तो पर्न सक्छ। यात्रु संख्या कम भए पनि उडान रद्द नगर्ने कम्पनीको नीति रहेको उनले बताए।
उडान सुरु भएपछि पोखराका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय यात्रुलाई आकर्षित गर्न विभिन्न छुट तथा सुविधा घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र बिहानको खाजा निःशुल्क तथा बोर्डिङ पासका आधारमा ३० प्रतिशतसम्म छुट दिने जनाएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा योगदान पुग्ने बताए।












