काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारी कोष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा हुने क्रम बढ्दै गएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म दुवै कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। बाढीबाट भएको क्षति तथा प्रभावितको राहत र पुनःस्थापनाका लागि सहयोग जुट्दै गएसँगै कोषमा रहेको रकम पनि उल्लेख्य रहेको देखिएको छ।
कार्यालयका अनुसार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
भोटेकोसी बाढीबाट रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन आह्वान गर्दै आएको छ। पछिल्लो समय विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट कोषमा आर्थिक सहयोग थपिने क्रम जारी छ।












