काठमाडौं। २० वाणिज्य बैंकहरूले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। तथ्यांकअनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। भदौमा यस्तो औसत ब्याजदर ४.१३६ प्रतिशत थियो। यसअनुसार एक महिनामा औसत ब्याजदर ०.०४६५ प्रतिशत बिन्दुले घटेको छ।
भदौको तुलनामा असोजमा चार बैंकले ब्याजदर घटाएका छन्। एभरेस्टले ४.०५ बाट ३.५० प्रतिशतमा, नबिलले ४.५५ बाट ४.२५ प्रतिशतमा, स्ट्यान्डर्ड चार्टर्डले ३.८० बाट ३.७५ प्रतिशतमा र कुमारीले ३.७६ बाट ३.७३ प्रतिशतमा झारेका छन्।
बाँकी १६ बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर प्रभु बैंकको ४.५५ प्रतिशत छ। माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र एनएमबी बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। कृषि विकास र नेपाल बैंकले ४.१५ प्रतिशत तथा नेपाल एसबिआई बैंकले ४.१० प्रतिशत छन्।
लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, प्राइम कमर्सियल र हिमालयन बैंकको ब्याजदर ४ प्रतिशत छ। नबिलले ४.२५ प्रतिशत, सिटिजन्सले ३.८५ प्रतिशत, सिद्धार्थले ३.७६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.७५ प्रतिशत ब्याजदर तोकेका छन्। कुमारी बैंकको ब्याजदर ३.७३ प्रतिशत तथा एभरेस्ट बैंकको सबैभन्दा कम ३.५० प्रतिशत छ।












