काठमाडौँ। दशैँ नजिकिँदै गर्दा सय रुपैयाँका नोट खोज्दै बैंकका काउन्टरमा लाग्ने भीड घटाउन नेपाल राष्ट्र बैंकले एटिएमबाटै साना दरका नोट वितरण गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले पहिलोपटक एटिएमबाट सय रुपैयाँ दरका नोटसमेत सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
चाडपर्वमा दक्षिणा तथा अन्य प्रयोजनका लागि नयाँ तथा साना दरका नोटको माग बढ्ने भएकाले काउन्टरमा हुने भीड व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र पठाउँदै मातहतका बैंक तथा वित्तीय संस्थाका एटिएमबाट सय रुपैयाँ दरका नोट वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला सर्वसाधारणलाई साना दरका नोट लिन बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले एटिएमबाट सय रुपैयाँका नोट उपलब्ध गराउन भनिएको हो।
हाल अधिकांश बैंकका एटिएमबाट पाँच सय र एक हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। सय रुपैयाँजस्ता साना दरका नोट आवश्यक पर्दा भने ग्राहक बैंकको शाखामा पुगेर नोट सटही गर्न बाध्य छन्।
दशैँमा टीका लगाएर दक्षिणा दिने चलनका कारण सय रुपैयाँका नोटको माग झन् बढ्छ। यही समयमा बैंकका शाखामा साना दरका नोट लिन सर्वसाधारणको भीड बढ्ने गरेको छ।
अब एटिएमबाटै सय रुपैयाँ दरका नोट निकाल्न सकिने भएपछि दक्षिणा र दैनिक खुद्रा प्रयोजनका लागि आवश्यक रकम लिन बैंकको काउन्टरमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकको अपेक्षा छ।












