काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ। दीर्घकालीन पुनर्निर्माणका लागि भने ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ लाग्ने अनुमान छ।
कुल आवश्यकतामध्ये सबैभन्दा ठूलो रकम ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानमा ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ लाग्ने देखिएको छ। त्यस्तै, सडक तथा पुललगायत यातायात पूर्वाधार पुनर्निर्माणमा ७३ अर्ब ३४ करोड रुपैयाँ र सामाजिक क्षेत्रको पुनरुत्थानमा १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ।
बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी घर, ६९ किलोमिटर सडक, ३३ मोटरेबल पुल तथा ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै, ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र पाँच सौर्य आयोजना प्रभावित भएका छन्।
भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि मात्रै ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।












